दैलेख : दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले निर्वाचन आचारसंहिताको बर्खिलापमा एक भवन शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिता २०८२ को परिछेद ३ को (घ) मा कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने उल्लेख गरिएको छ । तर, नगर प्रमुख रिजालले बुधबार आचारसंहिता विपरीत कभर्डहल भवनको शिलान्यास गरेका हुन् ।
नगर प्रमुख रिजाल नेपाली काँग्रेसबाट यस अघी सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनले दैलेख–२ मा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई सहयोग पुग्ने गरी निर्वाचन आचारसंहिता २०८२ परिछेद ३ को (घ) विपरीत दुल्लु नगरपालिका–७ मा पाँच करोड ५० लाख लागतमा निर्माण हुने कभर्डहल भवनको शिलान्यास गरेको पाइएको हो ।
उत् कभर्डहल भवनको शिलान्यास यस अघि समेत भइसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बुढा (क्षेत्री)का अनुसार यस अघि मङ्सिर या पुसमा कभर्डहल भवनको शिलान्यास गरिएको थियो । ‘उत् कभर्डहल भवनको शिलान्यास यस अघि मेयर शाव र मसँगै गएर गरेका हौँ । ठ्याक्कै मिति याद भएन् । अहिले फेरी उहाँ गएर किन शिलान्यास गर्नुभयो थाहा भएन ।,’ प्रमुख प्रशासकीय अधिकृत बुढा (क्षेत्री)ले भने ।
नगर प्रमुख रिजालले दोस्रो पटक भवनको शिलान्यास गर्नुले उनले निर्वाचन प्रभावित पार्न खोजेको देखिन्छ । यता, नगर प्रमुख रिजालले कभर्डहल भवनको शिलान्यास स्वीकार गरे । उनले भने, ‘हामीले कुनै आमसभा गरेर भवनको शिलान्यास गरेका होइनौँ । निर्माण कम्पनी सञ्चालकको आग्रहमा सामान्य धार्मिक परम्परा अनुसार शिलान्यास गरेका हौँ । आचारसंहिता विपरीत भएको रहेछ भने सुधार छौँ ।,’
निर्वाचन आचारसंहिता २०८२ मा यस्ता कार्य गर्न नहुने स्पष्ट उल्लेख गरिएकोे दैलेख क्षेत्र नम्बर २ निर्वाचन अधिकृत लोकहरी कँडेलले बताए । ‘निर्वाचन आचारसंहिता लागु भइसकेपछि स्थानीय सरकारका प्रमुख तथा कार्यपालिका सदस्यहरूले कुनै योजनाको शिलान्यास गर्न नपाइने आचारसंहितामा उल्लेख छ । त्यस्तो गरेको उजुरी आएको खण्डमा आयोगमा पठाउँछौँ ।,’ निर्वाचन अधिकृत कँडेलले भने ।
स्थानीय सरकार प्रमुखले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले निर्वाचनको निष्पक्षताप्रति प्रश्न उठेको जनाए । दैलेखमा निर्वाचन आचारसंहिता विपरीत अन्य गतिविधि समेत बढ्दै गएको देखिएकाले यस्ता कार्य रोक्ने सम्बन्धित निकाय जिम्मेवार तवरले लाग्नुपर्ने अध्यक्ष शाहीको भनाई छ । उनले भने, ‘राज्यका निकायले आचारसंहिता पालना गराउने ख्याल गरेको देखिदैन् । यस्ता गतिविधिले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको छ ।,’






